कथा

मृत्युबोध र धर्म को सम्बन्ध

लक्ष्मण घिमिरे "स्वामी आनन्दयोगी" आनन्दयोग दर्शन

मृत्युबोध र धर्म को सम्बन्ध

मृत्युबोध र धर्म को सम्बन्ध

एउटा गाउँ मा एक फकिर थियो । ऊ कहाँ एक व्यक्ति निरन्तर आउँदथ्यो । एक दिन फकिरलाई उसले सोध्यो : तपाईंको जीवन यति पवित्र छ, सात्विक छ, शान्ति छ, तर मेरो मनमा प्रश्न उठ्छ । कतै यो सबै सतही मात्र त  हैन ? कतै यस्तो त छैन कि तपाईंभित्र विकार पनि चल्छन्, मनभित्र बास्नाहरू, पाप, अपवित्रता पनि चल्छन्, भित्र अन्धकार छ, खराबीहरू पनि छन्, अशान्ति छ, चिन्ता पनि छ । तर दिखावा मात्र गर्नुभएको  त हैन ?त्यो साधु ले भन्यो- यसको उत्तर म दिन्छु तर पहिला एउटा कुरा तिमीलाई भन्छु । उत्तर दिने क्रममा मैले भुलेँ भने अप्ठ्यारो पर्ला । हिजो पनि भुलेँ । दुई चार दिन अझै भुलेँ भने भन्नु नभन्नुबराबर हुनेछ ।त्यो व्यक्तिले सोध्यो- के कुरा हो ?

साधुले भन्यो-  हिजो तिम्रो हात हेर्दा मेरो दृष्टि तिम्रो रेखामा पर्‍यो । मैले देखेँ, तिम्रो उमेर समाप्त भएको छ । सात दिनपछि, आइतबारको दिन, सूर्यास्त भन्दाअघि नै तिम्रो मृत्यु हुनेछ । हिजोझैँ आज पनि भुल्छु कि भनेर तिमीलाई बताइहालेको । ल, अब के सोध्नु छ, सोध ?
सोच, त्यो व्यक्तिको ठाउँमा तिमी भए के हुन्थ्यो ?
उ त हड्बडायो । युवा नै थियो । मुस्किलले तीस वर्षको उमेर थियो । उसको हात खुट्टा काम्न थाल्यो, उ उठ्यो ।

फकिरले भन्यो-  बस । तिमीले जे सोधेका थियौँ त्यसको उत्तर लिएर जाऊँ ।
तर उसले भन्यो- म फेरि आउँला । अहिले मलाई केही सोध्नु छैन । अहिलेलाई जान्छु ।
त्यो फकिरले भन्यो- कमसे कम आफ्नो प्रश्न त दोहोर्‍याऊ ?
त्यो युवकले भन्यो- मैले प्रश्न भुलेँ, मलाई घर जान दिनुहोस् ।
सात दिनपछि मृत्यु हुँदैछ भने कुनै प्रश्न याद रहला ?
ऊ सिँढी ओर्लियो । आउँदा खुट्टामा बल थियो, शानसँग हिँडेको थियो ।

अहिले सिँढी ओर्लिंदा बूढोझैँ हात खुट्टा कमाउँदै, सिँढीको सहारा लिँदै ओर्लिरहेको थियो । घर पुग्नै पाएन, बीचमै बेहोस भएर ढल्यो । खाटकै बास भो ।

सात दिन न निन्द्रा थियो, न शान्ति । मित्र–नातेदार जम्मा हुन थाले । मृत्युको खबर गाउँभरि फैलियो । उसले आफ्नो घरको मान्छेहरूलाई भन्यो : गाउँबाट फलानो–फलानोलाई बोलाई दिनुहोस्, जोसँग मेरो शत्रुता थियो, झगडा थियो, जसमाथि क्रोध गरेको थिएँ, जसलाई अपमान गरेको थिएँ, सबैसँग क्षमा माग्न चाहन्छु । म चाहन्न मृत्युपश्चात् मेरो कोही शत्रु बनिरहून् । उसले गाउँभरिका मान्छेहरूसँग क्षमा माग्यो ।

सातौँ दिन आयो । उसको त खानु पिउनु सबै बन्द थियो । उसलाई केही राम्रो लागिरहेको थिएन । ऊ त मर्ने प्रतीक्षा गरिरहेको थियो । सूर्यास्तको करिब एक घन्टाअघि त्यो फकिर उसको घर आयो । सारा घरको मान्छे ? रुन थाले । सबै प्रियजनहरू जम्मा भएका थिए, मृत्युको आखिरी घडी थियो । त्यो मान्छे सात दिनमा सुकेर हड्डी भएको थियो । आँखा खाल्टोमा धसेको थियो । उ हात खुट्टा चलाउन नसक्ने गरी ओछ्यानमै थियो ।

फकिरले नजिक गएर उसलाई भन्यो : मित्र, आँखा खोल । मलाई तिमीसँग एउटा प्रश्न सोध्नु छ । मर्नुअघि यसको उत्तर दियौ भने बडो कृपा हुनेछ ।

उसले मुस्किलले आँखा खोल्यो ।

फकिरले सोध्यो : म सोध्न चाहन्छु, यो सात दिनमा तिम्रो मनमा कुनै पाप, खराबी उठ्यो ? मनभित्र कुनै अपवित्रता आयो ?
उसले भन्यो : मर्न लागेको मान्छेसँग कस्तो ठट्टा गर्दै हुनुहुन्छ तपाईं ? मृत्यु यति नजिक छ, न कुनै पाप, न कुनै खराबी, मलाई केही ख्याल आएन । मृत्युको मात्र ख्याल थियो अरू केही थिएन ।

फकिरले भन्यो : तिमी अब उठ् । तिम्रो मृत्यु अहिले आएको छैन । तिमीलाई अझ धेरै बाँच्नु छ । मैले केवल तिम्रो प्रश्नको उत्तर दिएको हुँ । तर, स्मरण राख, जो व्यक्ति मलाई मर्नुछ भनेर जान्दछ, उसको जीवनमा क्रान्तिकारी अन्तर हुन्छ । उसको विचारमा, व्यवहारमा अन्तर पर्दछ ।

यो जमिनमा हामी मर्नको लागि हो भन्ने जो भुल्दछ उसको जीवनमा पवित्रता फलित हुँदैन । उसको जीवनमा धर्म हुँदैन ।

img
लेखकको बारेमा

Bodha Online

प्रतिक्रिया

इमेल ठेगाना गोप्य राखिनेछ । * चिन्हले अनिवार्य राख्नुपर्ने विवरण जनाउछ ।