विचार

'ब्रम्हज्ञान रहस्य ब्रम्ह तत्व के हो? ब्रम्हतत्व र पंचतत्व को सार संक्षेप ।

'ब्रम्हज्ञान रहस्य ब्रम्ह तत्व के हो? ब्रम्हतत्व र पंचतत्व को सार संक्षेप ।

'ब्रम्हज्ञान रहस्य ब्रम्ह तत्व के हो? ब्रम्हतत्व र पंचतत्व को सार संक्षेप ।

मेरो यस लेख मा आज पंचतत्व को बारेमा वर्णन गर्न गैरहेकोछु।जस्तै  सृष्टि निर्माण क्रममा सबैभन्दा पहिला आकाश तत्वको उत्पत्ति भयो । आकाश तत्वबाट क्रमशः पहिला वायु तत्व पृथक भयो अथवा भनौँ वायु तत्वको उत्पत्ति भयो । वायुबाट अग्नि तत्व र त्यसपछि जल तत्वको सिर्जना भयो र अंतमा जल तत्वबाट पृथ्वी तत्वको निर्माण भयो ।हामी सबैसँग सामान्य 'कन्सेप्ट' के छ भने केही कुरा हुनलाई स्थान हुनु आवश्यक हुन्छ र धेरै हदसम्म यो 'कन्सेप्ट' ठीक पनि हो । अब पानी हुनलाई पृथ्वी नभइ कसरी सम्भव हुनसक्छ ? यो लेख मा उल्लेख भएको कुरा मा कति लाई बिस्वास नलाग्न सक्छ। तथाकथित प्रगतिशील भनाउँदा (तर विज्ञान नबुझेका), नास्तिक र हिन्दू धर्मविरोधीहरूलाई वैदिक ज्ञानकै उपहास गर्ने मौका मिल्न सक्छ।  सृष्टि यिनै ५ तत्वले बनेको र तत्वको उत्पत्ति क्रमशः आकाश–वायु–अग्नि–जल–पृथ्वी अनुसार क्रमगत भएको भनिन्छ ।वैदिक विज्ञानले प्रयोग गरेको शब्द आकाश तत्व र आइन्स्टिनपछिको आधुनिक विज्ञानले प्रयोग गरेको शब्द 'स्पेशटाइम' मध्येको 'स्पेश' शब्दको अर्थ त्यति मात्रै छैन जुन विभिन्न शब्दकोषमा संग्रहित रहेको छ । शब्दकोषमा दुवैका लागि रिक्त स्थान भएको अर्थ पाइन्छ जुन ठीक पनि हो तर पूर्ण सत्य भने होइन । कुरा पहिला विज्ञानकै गरौँ । यदि कसैले विज्ञानले प्रयोग गरेको 'स्पेश' शब्दको अर्थ रिक्त स्थान मात्रै बुझ्छ भने मान्नुस् उसमा विज्ञान बुझ्ने ल्याक नै छैन । आइन्स्टिनपछि विज्ञानले स्वीकार गरेको 'स्पेश'को अर्थ आयाम (डायमेन्सन) हो । विज्ञानले ० देखि १०–११ सम्म 'डायमेन्सन' हुन सक्ने कल्पना गर्छ । त्यसमा पनि 'स्ट्रिंग थ्योरी'ले त २५–२६ सम्म 'डायमेन्सन' हुन सक्ने परिकल्पना गर्छ । विज्ञानको आधुनिकतम मान्यता अनुसार 'स्पेश' रिक्त स्थान होइन वरन यो 'क्वाण्टम फील्ड्स'ले भरिभराउ छ ।

जब हामी 'क्वाण्टम फिल्ड्स'का सापेक्ष जगत उत्पत्तिबारे अध्ययन गर्छौं त्यसबेला कुनै तत्व बनेका छैनन्, तत्वका एटम बनेका छैनन् । एटम बन्ने विभिन्न घटक इलेक्ट्रोन, प्रोटोन, न्युट्रोन, न्यूक्लियस बनेका छैनन् । प्रोटोन, न्युट्रोन बन्ने विभिन्न क्वार्क कण 'अप क्वार्क', 'डाउन क्वार्क', 'चार्म क्वार्क', 'स्ट्रेन्ज क्वार्क', 'टप क्वार्क', 'बा'टम क्वार्क' लगायत विभिन्न बोसान, ग्लुआन र फोटान बनेका छैनन् ।म त्यसबेलाको चर्चा गरिरहेको छु जुनबेला पृथ्वी, ग्रह, तारा आदि त के कुनै एटम बन्ने सम्भावनाको पनि सूत्रपात भइसकेको थियन ।  पानी हुनलाई स्थान (पृथ्वी) को आवश्यकता हुनुपर्ने आशय अथवा सन्देह व्यक्त गर्नेहरुले  मैले लेखिरहेको सापेक्षबाट हेर्नुस्, स्थानबाहेक सबै कुरा हुने सम्भावनाका बिज अर्थात् 'क्वाण्टम फिल्डस' मात्रै छ। आइन्स्टिनले भनेको 'स्पेश' मात्रै छ । कुरा विज्ञानकै भइराखे पनि ऋग्वेदले भनेको हिरण्यगर्भ शब्दसँग यस परिस्थितिको तुलना गरी हेर्नुस् ।हुन त वेदअनुसार हिरण्य गर्भ ( हिरण्य + गर्भ ) अवस्था यसभन्दा पनि पूर्वको अवस्था हो ।आधुनिक विज्ञान भन्छ (यिनै 'क्वाण्टम फिल्ड्स'बाट विभिन्न बोसान, ग्लुआन, क्वार्क कण हुँदै पहिलो सबैभन्दा सरल एटम (हाइड्रोजन एटम) को उत्पत्ति भयो । विज्ञान अनुसार सृष्टिको पहिलो एटम हाइड्रोजन एटम हो, पहिलो तत्व हाइड्रोजन तत्व हो ।

विज्ञानभन्दा सूक्ष्म दृष्टि भारतीय अध्यात्म अथवा प्रज्ञासँग रह्यो । उसले हाइड्रोजनलाई पहिलो तत्व मान्दैन । उसका अनुसार हाइड्रोजनको उत्पत्ति हुने आधार 'क्वाण्टम फिल्डस (आकाश) नै पहिलो तत्व हो । सबै किसिमका आग्रह र अल्पज्ञता छाडेर स्वतन्त्र र निष्पक्ष विचार गर्ने हो भने हिन्दुधर्म शास्त्रको दृष्टि, अवलोकन र निष्पत्ति आधुनिक विज्ञान भन्दा पनि सूक्ष्म एवं सटिक छ । पहिलो तत्व आकाश नै हो । सृष्टि उत्पत्ति क्रममा हाइड्रोजन दोश्रो तत्व हो । अहिलेलाई गफ नै लागे पनि वैदिक अवधारणा अनुसार ब्रह्माण्ड सृष्टिको मूलक्रम यसप्रकार छ –अनन्त अर्थात् आत्मा अथवा अव्यक्त ब्रह्मबाट महत, महतबाट अहंकार, अहंकारबाट आकाश, आकाशबाट वायु, वायुबाट अग्नि, अग्नि बाट जल र जलबाट पृथ्वी तत्वको उत्पत्ति भएको हो । यस अवधारणामा मन–आत्मा–ब्रह्म), बुद्धि र अहंकार पनि प्रकृतिका मूल तत्व हुन् । मनबाट बुद्धि, बुद्धिबाट अहंकार, अहंकारबाट आकाश तत्वको उत्पत्ति भए उप्रान्त मात्रै वायु, अग्नि, जल र पृथ्वी तत्वअस्तित्वमा आएका हुन् ।

आधुनिक विज्ञान पदार्थभित्र पसेर एटम, इलेक्ट्रोन, प्रोटोन न्युट्रोन हुँदै विभिन्न क्वार्क कणको संरचना बुझ्दै 'क्वाण्टम फिल्ड्स' 'क्वाण्टम फ्लैक्चुएसन'सम्म पुगेको हो । 'क्वाण्टम फिल्डस' 'क्वाण्टम फ्लैक्चुएसन' नै वेदवर्णित आकाश तत्व हो । 'क्वाण्टम फिल्डस'कै सूक्ष्मता अध्ययन गर्ने क्षमता विज्ञानसँग उपलब्ध भइसकेको छैन । त्यसपछिका अहंकार–बुद्धि र मन (आत्मा) तत्वको सूक्ष्मता भेद विज्ञानको दृष्टिमा सम्भव कहाँ हुन सक्छ ? त्यसैले यसलाई हिन्दूहरूको गफ भन्ने बाहेक अरु कुनै उपाय पनि त छैन ।म त्यस्तो महान  विद्धान त होइन  तर यति सत्य हो कि यो मेरो वैयक्तिक अनुभव हो, न्युरोलोजिकल युटिलाइजेसन को एक प्रतिशत ज्ञान नहुँदा पनि भएको ज्ञानले नै मलाई आफ्नो लघुताको बोध स्पष्ट रूपमा भइसकेको छ ।मैले लेखको प्रारम्भमा सबैलाई सरल भाषामा बुझाउने प्रयत्न  गरेकोछु, त्यो गर्न सकेँ कि सकिनँ तपाईंहरु आफै मुल्यांकन  गर्नुहोस ।

चर्चालाई अगाडि बढाउँछु ।
'स्पेश'लाई आइन्स्टिनले भनेको सबै किसिमको सम्भावना बोकेको गर्भ (क्वाण्टम फिल्ड्स) अर्थात् 'डायमेन्सन' अथवा तपाईंले बुझेको मुलभुत स्थान भनी बुझ्नुस् । यो रिक्त पनि छ र सबै किसिमका सम्भावनाले भरिभराउ पनि छ । यो 'कण्डीसन' बुझ्न अर्थात् आइन्स्टिनले भनेको 'स्पेश' बुझ्न आफुले जानेको गणित–ज्ञान–विज्ञान–तर्क सबै–सबै नै तिरोहित गर्नुपर्छ । तर्क–गणित र क्लासिकल विज्ञानअनुसार एउटा वस्तु एउटै समयमा कुनै एक रूपमा, एक स्थानमा, अथवा एक प्रकृतिको मात्रै हुन सक्छ । जस्तोकि एउटै वस्तु ठीक त्यही समयमा कि त हुन्छ कि त हुँदैन । सामान्य गणित र सामान्य तर्कले यो नै ठीक हो । तर अब आधुनिक विज्ञान प्रकृतिको रहस्य उजागर गर्ने क्रममा त्यहाँ पुगिसकेको छ जहाँ पुगेर उसलाई थाहा भयो एउटै वस्तु ठीक त्यही समयमा हुन पनि सक्छ नहुन पनि सक्छ । प्रकाश कण पनि हो र ठीक त्यही समयमा तरंग पनि हो । एटमभित्र इलेक्ट्रोन एकै समयमा जहाँ पनि (सर्वत्र) हुन सक्छ । द्रष्टा हुँदा पदार्थ अस्तित्वमा हुन्छ र द्रष्टा नहुँदा पदार्थको अस्तित्व रहँदैन । बाकसभित्र रहेको बिरालो जिउँदो पनि हुन सक्छ मरेको पनि हुन सक्छ ।फोटोनलाई कसैका आँखाले हेर्दै छन् भने उसको रूप बेग्लै हुन्छ र फोटोनलाई हेर्ने कुनै आँखा उपलब्ध छैनन् भने फोटानले अर्कै रूप धारण गर्छ । यी सबै आधुनिक विज्ञानले प्रमाणित गरेका कुरा हुन हिन्दू धर्मशास्त्रका गफ होइनन् ।आकाश तत्वमा 'क्वाण्टम फिल्ड्स'मा आएको 'फ्लैक्चुएसन'बाट वायु तत्वको उत्पत्ति भयो । वायु तत्व त्यै हो जसलाई आधुनिक विज्ञानले 'स्ट्रोङ्ग थ्यौरी भन्छ । 'पोजिटिभ चार्ज', 'नेगेटिभ चार्ज', विद्युत, वायु सबै 'स्ट्रिंग्स' नै हुन् । विज्ञानसँग अहिलेसम्म 'स्ट्रिंग्स' बारे परिकल्पना मात्रै छ । वेदले भनेका विभिन्न रश्मि यथा प्राण रश्मि, छन्द रश्मि, कूर्म रश्मि, वाराह रश्मिलाई चार्ज भनी बुझ्नुस् ।यी 'स्ट्रिंग्स'बाट अग्नि तत्वको उत्पत्ति भयो । अग्नि तत्व पनि बुझ्नुस्, वेदले कसलाई अग्नि तत्व भन्छ ? 'स्ट्रिंग्स' बाट प्रारम्भिक रूपमा बनेका फोटान, विभिन्न क्वार्क कण, बोसान, ग्लुआन नै अग्नि तत्व हुन् । सबै पदार्थका मूल कण अर्थात एटम् नै अग्नि तत्व हो ।

फेरि बुझ्नुस् विभिन्न चार्ज, विद्युत, 'क्वाण्टम फिल्ड्स' को 'फ्लैक्चुएसन', 'स्ट्रिंग्स' वायु तत्व हुन् । यिनकै परस्पर संयोगले बनेका विभिन्न क्वार्क, बोसान, फोटान र एटम अग्नि तत्व हुन् । अग्नि तत्व र वायु तत्वको संयोगले जल तत्वको निर्माण भयो । ल विज्ञानको भाषामा बुझ्नुस्, एटमबाट 'मोलिक्यूल' बन्ने प्रक्रिया प्रारम्भ भयो । विज्ञानले पानीलाई 'मोलिक्युलर स्टेट' भन्छ । 'मोलिक्यूल' भनेको एटमको समूह हो । पानी दुइवटा एटमको संयोग हो, हाइड्रोजन र अक्जिन एटम मिलेर पानी बन्छ ।सृष्टि उत्पत्ति प्रक्रियामा 'मोलिक्युलर स्टेट'बाटै 'कम्पाउन्ड स्टेट' बन्नु थियो । विज्ञानअनुसार पृथ्वी 'कम्पाउण्ड' वर्गमा पर्छ । वैदिक ज्ञानले यसै प्रारंभिक 'कम्पाउण्ड'लाई पृथ्वी तत्व भन्छ । जल तत्व (मोलिक्यूल्स) बाट नै 'कम्पाउण्ड' (पृथ्वी) अस्तित्वमा आयो ।'कम्पाउण्ड' भन्ने बित्तिकै पृथ्वी मात्रै बुझ्ने गल्ती नगर्नुहोला । पृथ्वी तत्व भनी बुझ्नु होला । पृथ्वी मात्रै होइन, सबै ग्रह, सबै तारा, सबै 'सेलेस्टिकल बड़ी' (खगोलीय पिण्ड) पृथ्वी तत्व नै हुन् ।यदि यस बारेमा   तपाईंहरुमा पढ्ने चासो  र धैर्यता  छ भने मात्र बुझ्न सहज हुन्छ यो ब्रम्ह ज्ञान बारे बुझ्न धैर्यता,शाहस र मन लाई स्थिर बनाउन सक्ने ले मात्र बुझ्न सक्छ। यस्को  एउटा 'सुपर' रहस्य सुन्नुस् ।

हिन्दूहरूको पुराण कथामा तपाईंले त्यो कथा सुन्नुभएको होला जसअनुसार कुनै दैत्यले पृथ्वीलाई चोरेर समुद्रभित्र लुकाइदिन्छ । भगवान् विष्णुले वाराह अवतार धारण गरी समुद्रबाट पृथ्वीलाई बाहिर ल्याई पृथ्वीको उद्धार गर्नुभयो ।कथं कदाचित तपाईंको मनमा पनि कहिलेकाहीँ यो शंका आउँछ होला- ए बाबा, समुद्र त पृथ्वीमै छ । त्यो दैत्यले कसरी पृथ्वीलाई समुद्रभित्र लुकायो होला ?किनकि तपाईं मेरा प्रियपात्र हुनुहुन्छ, त्यसैले आज म यस कथाको रहस्य छलङ्ग हुने गरी भन्न गइरहेको छु ।यो पुराण कथा ब्रह्माण्डको 'इभोल्युसन'सम्बन्धी गूढ़ ज्ञान हो । विष्णुका विभिन्न अवतारका कथा पनि पृथ्वीमा भएको 'इभोल्युसन'का प्रतीकात्मक कथा हुन् । कसरी माछादेखि (जलमा उत्पत्ति भएको पहिलो जीवन विषयक दृष्टांत) कच्छप, नृसिंह, परशुराम हुँदै (विकास क्रमका विभिन्न जीवन चक्र) कृष्णसम्म (आधुनिक होमो सेपियंस) को 'इभोल्युसन' भयो । फुर्सदमा डार्विनको विकासवादसँग पुराणको अवतारवादको तुलनातमक समीक्षा गरी हेर्नुहोला ।म बाराह अवतारले समुद्रबाट पृथ्वी बाहिर ल्याउनुको रहस्य बताउछु।ब्रह्माण्ड उत्पत्ति क्रममा 'स्ट्रिंग्स' (वायु तत्व) बाट विभिन्न क्वार्क, बोसान, एटमसम्म (अग्नि तत्व), अग्नि तत्वबाट जल तत्व मोलिक्यूल्स (एटमको समूह) उतपत्तिको वर्णनमाथि नै भइसकेको छ । 'मोलिक्यूल्स' बाट 'कम्पाउण्ड' बन्ने गाथा नै हो वाराह अवतारको कथा ।

'मोलिक्यूल्स' अर्थात् जल तत्व मै 'कम्पाउन्ड्स' (पृथ्वी तत्व) हुने गुण थियो । जल तत्वबाटै पृथ्वी तत्वलाई बेग्लै गरी तपाईले बुझेको स्थान (जुनसुकै खगोलीय पिण्ड) बनाउनु थियो र विकसित हुनु थियो । हुन त अब तपाईंलाई भन्नु परिरहेन मूल रूपमा खाली स्थान भनेको आकाश तत्व नै थियो रहो । विचार गरी हेर्नुस् त पृथ्वीलगायत जुनसुकै खगोलीय पिण्डलाई हुन पनि त स्थान चाहिन्छ ? त्यो स्थान भनेको आकाश नै हो ।जल तत्व (मोलिक्यूल्स) बाट पृथ्वी तत्व (कम्पाउन्ड्स) बन्ने प्रक्रियामा जटिलता आए । हुन त अव्यक्त ब्रह्मलाई (जसलाई वैदिक परम्परामा हिरण्य भनिन्छ र विज्ञानको भाषामा यसलाई 'बिग बैंग' भन्दा पहिलाको 'सिंगुलरिटी' बुझ्नुस्) तेजस धारण गरी हिरण्यगर्भ हुन (वैदिक परम्परामा अव्यक्त ब्रह्मको व्यक्त स्वरुप अर्थात् ब्रह्मा र विज्ञान अनुसार 'सिंगुलरिटी'मा 'बिग बैंग' पश्चात् बनेको आकाश (क्वाण्टम फिल्ड्स) अर्थात् आकाश तत्वको निर्माण हुन पनि सजिलो थिएन । आकाश तत्व (क्वाण्टम फ्लक्चुएशन) बाट वायु तत्व अस्तित्वमा आउन पनि उत्तिकै दुरूह एवं जटिल प्रक्रिया समपन्न भए । वायु तत्वबाट अग्नि तत्व (क्वांटा) बन्न पनि सजिलो थिएन । अग्नि तत्वबाट (एटमबाट) 'मोलिक्यूल' बन्न पनि सजिलो कहाँ थियो र ?

'बिग बैंग थ्योरी' अध्ययन गर्ने हरूलाई थाहा हुन्छ । अर्बौं एटममध्ये एउटा एटम मात्र 'सरभाइभ' हुन्थ्यो । अबौं एटममध्येको एउटा एटम 'सरभाइभ' भएर जल तत्व (मोलिक्यूल्स)को उत्पत्ति सम्भव भएको थियो ।जल तत्वबाट पृथ्वी तत्व बेग्लै गर्न अप्रकाशित कूर्म रश्मि (जसलाई वैदिक साहित्यमा असुरको संज्ञा दिइएको छ) ले प्रतिरोध गर्यो । आधुनिक विज्ञानको भाषामा यस अप्रकाशित कूर्म रश्मि अर्थात् वैदिक असुरलाई 'डार्क एनर्जी' भनी बुझ्नुस् ।

सूत्रात्मा वायु तत्व र मनस तत्वले संयुक्त भएर वाराह रश्मिको निर्माण गरी 'डार्क एनर्जी' अर्थात् अप्रकाशित कूर्म रश्मिको प्रभाव क्षीण गरी जल तत्वबाट पृथ्वी तत्वलाई बेग्लै गर्ने कार्य गरे । यसै पृथ्वी तत्वले आकाशगंगा, नेबुला, तारा र क्रमशः पृथ्वीलगायत अन्य ग्रहहरूको निर्माण भयो ।जुन वाराह रश्मिले ताराको निर्माण भयो त्यस रश्मि र तारा (सूर्य) लाई विष्णुको उपमा दिइएको हो । विष्णुको वाराह अवतारको कथाको रहस्य यही हो । जल तत्वबाट पृथ्वी तत्वको विनिर्माण हुनु नै वाराह अवतार कथाको सार हो ।वैदिक विज्ञान विषयक मेरो ज्ञान अर्थात आनन्दयोग दर्शन ले बताएको । "बृहत् ज्ञानगङ्गा" मा ब्रम्हा तत्व बारे संक्षिप्त मा उल्लेख गरिएको छ।

आशा लिएको छु आजको लेखमार्फत तपाईंको शंका निवारण भयो होला । यस विषयक अन्य कुनै जिज्ञासा भए सोध्नुहोला, तपाईंको जिज्ञासाले मलाई थप अध्ययन गर्ने अवसर प्रदान गर्ने छ ।

img
लेखकको बारेमा

Bodha Online

प्रतिक्रिया

इमेल ठेगाना गोप्य राखिनेछ । * चिन्हले अनिवार्य राख्नुपर्ने विवरण जनाउछ ।